दोलखाको लामाबगरबाट थप ४ किलो सुन बरामद । Tungna Media

0


 दोलखा प्रहरीले चिनीयाँ नाकाबाट तस्करी गरेर ल्याएका थप ४ किलो सुन बरामद गरेको छ । विगु गाउँपालिका–१ लामाबगरबाट बारीमा ढुंगाले थिचेर लुकाएको अवस्थामा आइतबार(आज) दिउँसो ४ किलो सुन बरामद गरेको दोलखाका प्रहरी प्रमुख दीपक खड्काले बताउनुभयो ।

 
‘लामाबगरमा बारीमा ढुंगाले थिचेर लुकाएको अवस्थामा फेला पारेका छौं,’ उहाँले भन्नुभयो, ‘तर सो सुन तस्करी गरी लुकाउने व्यक्ति पहिचान भएको छ ।’ हाल उनी फरार रहेका प्रहरीले जनाएको छ ।
 
यो सहित प्रहरीले गएको ५ दिनमा ११ किलो सुन बरामद गरेको छ । सुन तस्करीमा संलग्न थप २ जना पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा विगु गाउँपालिका–१ लामाबगर ३० वर्षीय चसमान तामाङ र अन्दाजी २७ वर्षीय राज तामाङ रहेको प्रहरीले जनाएको छ । सुन तस्करीमा संलग्न रहेको आरोपमा चसमानलाई लामाबगरबाट आइतबार(आज) र राजलाई काठमाडौंबाट शुक्रबार पक्राउ गरी दोलखा ल्याइएको प्रहरी नायव उपरीक्षक खड्काले बताउनुभयो ।
 
विगु गाउँपालिका–३ जामुनेबाट प्रहरीले चीनबाट अवैध रुपमा ल्याएर लुकाएको सुन बुधबार ४ किलो र शुक्रबार ३ किलो सुन प्रहरीले पक्राउ गरेको थियो । सुन तस्करीको आरोपमा हालसम्म एकै गाउँका ७ जना पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीले हालसम्म तस्करले ल्याएको ११ किलो सुन पक्राउ गरेको छ ।
 
फलाकबाट चीनको रोङजिया नाकाबाट ठूलो परिमाणमा सुन पैदलमार्गबाट भित्रिएको अनुमानमा प्रहरीले उक्त क्षेत्रमा निगरानी बढाएको छ । तस्करमा संलग्न अन्य भने फरार रहेको प्रहरी स्रोतले जनाएको छ ।
 
फरार रहेकाहरूसँग तस्करी गरी ल्याएको सुन हुनसक्ने अनुमानमा प्रहरीले खोजी कार्य जारी राखेको हो ।

Post a Comment

0 Comments
Post a Comment (0)
To Top